अफगानिस्तानबाट हुने उद्धारमा व्यवसायिक विमान पनि प्रयोग गरिने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । भदौ ७, अमेरिकाले अफगानिस्तानमा फसेका मानिसहरुलाई उद्धार गर्न व्यवसायिक विमानहरु पनि प्रयोग गर्ने भएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफगानिस्तानबाट सुरक्षित रुपमा सर्वसाधारणलाई तेस्रो मुलुकमा लैजान १८ वटा हवाई जहाज प्रयोगमा ल्याइने छ ।
यसअघि सैनिक विमानले मात्रै अमेरिकी नागरिक र अफगानिस्तान छाड्न चाहने अफगानीहरुलाई उद्धार गर्दै आएकोमा अब ब्यवसायिक विमानमार्फत पनि उद्धार गर्ने भएको हो ।
पेन्टागनले जनाए अनुसार अफगानिस्तानको काबुल विमानस्थललगायत अन्य विमानस्थलमा रहेकाहरुलाई अन्य देश पुर्याउन सहयोग गरिने छ । तालीवानले गत साता अफगानिस्तानमाथि कब्जा जमाएपछि असुरक्षित महसुस गर्दै देश छोड्न हजारौं अफगानी नागरिक काबुल विमानस्थलमा भेला भएका छन् ।
काबुल विमानस्थल बाहिर भेला भएका हजारौँ मानिसहरुको भीडले कुल्चिदा २० जनाको मृत्यु भएको नेटो सेनालाई उदृत गर्दै रोयटर्सले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता मात्रै २८ हजारको उद्धार गरिएको जानकारी दिनुभएको छ ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै बाइडेनले अफगानिस्तानको स्थिति नाजुक रहेको र त्यहाँका जनता पीडामा रहेको हृदयविदारक दृश्यहरु उजागर भएको दृष्टान्त पेश गर्दै त्यस्ता दृश्यहरु आफूले देख्न नसकेको बताउनुभयो ।
बेलायतले पनि गत सातादेखि शुरु गरेको उद्धारका क्रममा ५७ जनालाई अफगानिस्तान बाहिर निकालिएको छ ।