नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल दर्शकले हेर्न पाउने

काठमाडौँ । भदौ १६, नेपाल र भारतबीच भोलिदेखि हुने मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई अनुमति दिइएको छ । सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।

नेपालले भारतसँग भोलि पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ साढे पाँच बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
यसैबीच, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षिक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नको लागि मैदानमा उत्रिने बताएका छन् । काठमाडौंको सोल्टी होटेलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो बताएका हुन् ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले भारतीय टोली बलियो रहेको र मैत्रीपूर्ण खेलले नेपाली टोलीलाई साफ च्याम्पियनसीप खेल्न मद्दत पुर्याउने प्रतिक्रिया दिए ।