शुक्रबारबाट नेपाल–इयू चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । भदौ ३१, नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रबारदेखि प्रारम्भ हुने भएको छ ।
भोलिदेखि अप्रत्यक्ष माध्यमद्धारा असोज ९ गतेसम्म हुने महोत्सवमा दर्शकका मन जित्न सफल भई पुरस्कार प्राप्त गरेका १५ वटा चलचित्रसहित १४ वटा युरोपेली देशका २६ वटा अन्य चलचित्र प्रदर्शन गरिने यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।
महोत्सवमा पाँचवटा नेपाली कथानक चलचित्र पनि प्रदर्शन गरिनेछ । प्रदर्शन हुने युरोपेली चलचित्रलाई नेपालीमा भाषान्तर गरिएको छ ।
उक्त महोत्सव जारी रहँदा प्रतिनिधिमण्डलले नेपाली सिने क्षेत्रमा आबद्ध कलाकार, निर्देशक, चलचित्र समीक्षक र सञ्चारकर्मीसँग अप्रत्यक्षरूपमा छलफल गर्नाका साथै पर्यावरणमा कुनै किसिमको प्रभाव नपारी त्यसको संरक्षण गर्दै चलचित्र छायाङ्कन गर्न सकिने विषयमा पनि छलफल गरिने छ । एजेन्सीको साथमा ।