दशैको लागि आजदेखि नयाँ नोट साटन सुरु

काठमाडौं । असोज ०४, दशैका लागि सबै जनाले आजदेखि नयाँ नोट साटन सुरु गरिएको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो ।
नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि लाम लागेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि बालुवाटार कार्यालय र सात वटै प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था मिलाएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि चार अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।