१३ औँ साफ च्याम्पियनसिप आजदेखि, नेपालले माल्दिभ्सको सामना गर्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

१३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्।

दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।

नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

नेपाललाई साफको उपाधि उचाल्न सहज भने हुने छैन । साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो । नेपाल साफको फाइनल समेत पुग्न सकेको छैन ।

अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिम यस पटक भने उच्च मनोबलमा रहेको छ । युवा र अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टिमले फाइनल खेल्ने योजना बनाएको छ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

नेपाल भर्सेस माल्दिभ्स हेड टु हेड :

माल्दिभ्सविरुद्ध नेपालको इतिहास निकै कमजोर रहेको छ । नेपालले हालसम्म माल्दिभ्ससँग १६ खेल खेलेको छ । जसमा माल्दिभ्सले ८ खेल जितेको छ ।

माल्दिभ्सविरुद्ध नेपालले ४ खेलमा जित निकाल्दा ४ खेल बराबरी खेलेको छ ।

नेपालले पछिल्लो पटक माल्दिभ्सविरुद्ध २०१८ को साफमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमा भएको त्यस भेटमा नेपाल ३-० ले पराजित भएको थियो ।

प्रकाशित : 1 October, 2021

प्रतिक्रिया दिनुहोस्