बैतडीमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्रतिस्पर्धा
काठमाडौँ । कात्तिक ८, नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा दार्चुला बाहेकका जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था कमजोर बन्यो। दार्चुलाबाहेकका आठवटा जिल्लामा देउवा निकट महाधिवेशन प्रतिनिधि विजयी भएका थिए। आठवटै जिल्ला सभापति पनि देउवा निकट थिए।
तर, १४औँ महाधिवेशनमा भने समीकरण केही बदलिएको छ। अहिले रामचन्द्र पौडेल खेमाबाट सुदूरपश्चिमका तीनवटा जिल्लामा सभापति विजयी भएका छन्। देउवा खेमाको राम्रो पकड रहेको भनिएका बाजुरा र बझाङमा पौडेल खेमाबाट सभापतिका उम्मेदवार बनेका व्यक्ति विजयी भएका छन् भने दार्चुलामा पौडेलको स्थिति यथावत् छ।
यसैगरी क्षेत्र नम्बर ‘ख’बाट विजयी १७ जनामध्ये १३ जना पौडेल खेमाका रहेका छन्। बाजुराबाट ३४ जना क्षेत्रीय प्रतिनिधिमध्ये २२ जना पौडेल खेमाबाट र १२ जना देउवा खेमाबाट विजयी भएका छन्।
वरिष्ठ नेता पौडेलले यस पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पनि राम्रो उपस्थिति जनाएका छन्। डडेल्धुरामा देउवाको एकलौटी पकड थियो।
तर, यस पटक भने डडेल्धुराका सभापति कर्ण मल्लसहित आधा कांग्रेसका कार्यकर्ता देउवाविरुद्ध उभिएका छन्। यसका कारण कांग्रेस सभापति देउवाले डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमा प्रत्यक्ष हस्तक्षेप मात्र गरेनन्, एक पक्षीय रूपमा वडा र पालिका अधिवेशनसमेत गरेका छन्।
सामान्य स्थितिमा देउवाले गृह जिल्लामा यति ठूलो हस्तक्षेप गर्ने अवस्था आउँदैन। यसले पनि सुदूरपश्चिममा कांग्रेस नेता पौडेलले आफ्नो पकड बलियो बनाएको भनेर बुझ्न जोकोहीलाई सहज भएको छ।
जिल्ला अधिवेशनमा पनि बैतडीमा देउवा र पौडेल खेमाबीच प्रतिस्पर्धा कडा हुने देखिन्छ। देउवा खेमाबाट सभापतिका उम्मेदवार बनेका शिवराज भट्ट कांग्रेस प्रजातान्त्रिक हुँदै नेपाली कांग्रेसका सभापति भइसेका व्यक्ति हुन्। यसैगरी पौडेल खेमाहबाट चतुरबहादुर चन्दले सभापतिमा उम्मेदवारी दिएका छन्। क्रिकेट संघका अध्यक्षसमेत रहेका उनी युवामाझ बढी घुलमिल भएका व्यक्ति हुन्।
नेपाली कांग्रेसका सभापति देउवाको राम्रो पकड रहेको कंचनपुरमा पनि पौडेल खेमाले यस पटक स्थिति सुधारेको छ। कांग्रेसको वडा अधिवेशनमा कंचनपुरमा निर्वाचित हुने प्रतिनिधिको संख्याले पनि जिल्लामा देउवा र पौडेल खेमाबीच टक्कर हुने देखिन्छ।
शनिबार आएका वरिष्ठ नेता पौडेलले पनि सुदूरपश्चिममा बाढी(पहिरोबाट भएको क्षति र प्रभावित समुदायको अवस्था बुझ्न कैलाली र कंचनपुर आएको बताएका थिए। तर, बाढी(पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा बढी क्षति पुर्याएको छ। पौडेल पहाडी क्षेत्रमा भने गएनन्।
कैलालीमा क्रियाशील विवादका कारण नेपाली कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन। तर, कैलाली क्षेत्र नम्बर( ५ का प्रभावशाली नेता संविधानसभा सदस्य पुष्करनाथ ओझामाथि गरिएको कारबाहीका कारण देउवा खेमालाई केही असहज हुने देखिन्छ।
ओझाको कारबाही फुकुवाको माग गर्दै लविङ गरेका वरिष्ठ नेता पौडेलले त्यसको फाइदा कैलालीमा लिन सक्नेछन्।