प्रदेशमा ७ मन्त्रालयको प्रस्ताव, उक्त प्रस्तावमा थपघट गर्नु आवश्यक : सचिव थपलिया
काठमाडौं । सरकारले प्रदेशमा रहने मन्त्रालयको संख्या प्रस्ताव गर्दै प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी मापदण्ड वमोजिम शुरुमा प्रदेशमा ७ मन्त्रालय प्रस्ताव गरेको छ । सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले तयार पारेको प्रदेशमा ७ मन्त्रालय प्रस्ताव गरेको हो । संगसंगै प्रदेशमा नियुक्त हुने प्रदेश प्रमुखको मापदण्डसमेत तयार पारिएको छ ।
समितिले यसअघि नै संघीय सरकारमा बढीमा १८ वटासम्म मन्त्रालय राख्न प्रस्ताव गरिसकेको छ । प्रस्तावअनुसार प्रदेशमा रहने अन्य मन्त्रालयमा प्रदेश गृह मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले उच्चस्तरीय समितिले बनाएको प्रदेश मन्त्रालयको खाका केही अपूर्ण रहेको र त्यसमा थपघट गर्नु आवश्यक रहेको जानकारी दिए।