शि जिनपिङ्ग अझ शक्तिशाली नेता, चिनियाँ कम्युनिस्ट पार्टीद्वारा ऐतिहासिक प्रस्ताव पारित

काठमाडौँ । २६ कात्तिक, चीनको कम्युनिस्ट पार्टीले राजनीतिक इतिहासमा राष्ट्रपति शि जिनपिङ्गको अधिकारलाई थप बलियो बनाउँदै एक ऐतिहासिक प्रस्ताव पारित गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले पारित गरेको सो दस्तावेजमा पछिल्लो एक सय वर्षको इतिहासको सारांशका साथै पार्टीको प्रमुख उपलब्धि तथा भविष्यको मार्ग निर्देशनबारे चर्चा गरिएको जनाइएको छ । चीनमा कम्युनिस्ट पार्टीको स्थापनापछि यस किसिमको यो तेस्रो प्रस्ताव हो । यसअघि सन् १९४५ मा माओत्से तुंगको पहिलो र सन् १९८१ मा देङ्ग शियाओपिङ्गको दोस्रो प्रस्ताव पारित भएको थियो ।
बिहीबार भएको पार्टीको छैटौँ महाधिवेशनले सो प्रस्तावलाई पारित गरेको हो । यस प्रकारको प्रस्ताव जारी गर्ने शि जिनपिङ्ग चीनको तेस्रो नेता बन्नु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको यो कदमको उद्देश्य पार्टीका संस्थापक माओत्से तुंग र उहाँका उत्तराधिकारी देङ्ग शियाओपिङ्ग समान शि जिनपिङ्गलाई देखाउनु रहेको बताइएको छ ।
केही पर्यवेक्षकहरुले यो प्रस्ताव देङ्ग शियाओपिङ्गको समयमा चीनले शुरु गरेको विकेन्द्रीकरणको प्रयासलाई फिर्ता लिने कदमका रुपमा रहेको बताएका छन् । पछिल्लो घटनाक्रमलाई हेर्दा चीनको राजनीति फेरि एक व्यक्तित्वको वरिपरि घुम्न थालेको संकेत देखिएको विश्लेषण हुन थालेको छ ।
यसअघि सन् २०१८ मा चीनले राष्ट्रपति पदमा एक व्यक्ति दुई कार्यकाल मात्रै रहने पाउने प्रावधानलाई हटाएको थियो । जसबाट शि जिनपिङ्ग आजिवन राष्ट्रपति पदमा रहन सक्ने व्यवस्था खुला गरेको छ ।
एजेन्सीको सहयोगमा