यस कारण नेपाल आइडलविरुद्धको रिट भयो खारेज ?

सहयात्रा टिभी

भोट गन्ने बाटो खुल्ला

काठमाडौ । चर्चित गायन रियालिटी शो नेपाल आइडलबिरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ ।
दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।

भोटिङ सम्बन्धमा विवाद आएपछि अदालतले भोट गन्ने कार्य शुक्रबारसम्मका लागि स्थगित गर्न यसअघि अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशसँगै नेपाल आइडलको आयोजकलाई भोट गनेर प्रतिस्पर्धी छान्ने बाटो खुलेको छ ।

अदालतले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि आज शुक्रबार बोलाएको थियो । आइडलबिरुद्व ज्ञानमणि न्यौपानेले दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादी बीचको छलफल सुनी शुक्रबार मुद्दाको टुंगो लगाउने निर्णय केही दिन अगाडि गरेको थियो ।

नेपाल आइडलमा चार जना प्रतिस्पर्धीमध्ये तीन जनाको छनोट गर्नुपर्नेमा उक्त कार्य नगरेको र सर्वसाधारणबाट संकलित भोट समेत सार्वजनिक नगरेको भन्दै अधिवक्ता न्यौपानेले मंगलबार रिट हाल्नु भएको थियो ।

दुवै पक्षको छलफलपछि नेपाल आइडलको आयोजकले यसअघि नै प्राप्त भएको मतको आधारमा प्रतिस्पर्धीको नतिजा सार्वजनिक हुने जानकारी इजलासलाई गराएपछि अन्तरिक आदेश खारेज भएको हो ।

नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । यो अवधिमा ३७ लाख बढी भोट आएको आयोजकले जनाएको थियो ।

तर भोलिपल्ट आयोजकले भेटका आधारमा कसैलाई आउट नगरी अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो । दर्शकले दिएको भोट लुकाई ठगी गरिएको भन्दै सर्वसाधारणबाट समेत विरोध भएको थियो ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्