चार दिनमा खुल्यो हिमपातले अवरुद्ध राजमार्ग

सहयात्रा टिभी

काठमाडौं । माघ २४, हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनमा खुलेको छ । बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आइतबार मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको हो ।

उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो । ‘दुई जेसीबीको प्रयोग गरी राजमार्ग सूचारु गरिएको छ । यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।’ –बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेर बाटोमै अलपत्र परेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने यसअघि नै सुचारु भइसकेको प्रमुख  यी राजमार्ग सडक डिभिजन कार्यालयका चारवटा जेसीभी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा सञ्चालनमा आएको हो ।

राजमार्ग खुलाउन तथा हिउँ सफा गर्न बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानासहितको सुरक्षाकर्मीको टोली खटिएको थियो ।

यसैबीच, हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

प्रकाशित : 7 February, 2022

प्रतिक्रिया दिनुहोस्