“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण
चितवन । नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताउनुभएको छ ।
बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक सोमबार यहाँ लोकार्पण गर्दै उहाँले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिनुभयो ।
उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताउनुभयो ।
पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताउनुभयो । अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।
पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन् । रासस