पुटिनले दिए युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

काठमाडौं । फाल्गुन १०, रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका छन् ।
उनको यो घोषणासँगै रुस र युक्रेनको सीमा क्षेत्रमा जारी तनाज झनै बढ्ने निश्चित भएको छ ।रुसी समर्थक पृथकतावादीको नियन्त्रणमा रहेका लुहान्स्क र डोनेस्कले स्वतन्त्र राज्यको मान्यता पाएका हुन् । पुटिनले स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।सोमबार राति सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् ।
यी दुई क्षेत्रमा सन् २०१४ देखि विद्रोहीहरु युक्रेनसँग लड्दै आएका थिए । शान्ति वार्तापछि केही समय युद्धविराम भएको थियो । बीबीसीका अनुसार पश्चिमा राष्ट्रहरुलाई अब रुसी सेना पूर्वी युक्रेनमा प्रवेश गर्ने बहाना पाएको बताएका छन् । पुटिनले हस्ताक्षर गरेसँगै ती क्षेत्रमा रुसी सैनिकले शान्ति कायम राख्ने काम गर्ने जनाइएको छ ।
शान्तिको नाममा रुसी सैनिकले त्यहाँ के गर्नेछन् भन्ने अहिले नै स्पष्ट नभएको समाचारमा जनाइएको छ ।