कञ्चनपुरमा फागुन १४ देखि सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट

काठमाडौं । फाल्गुन १०, कञ्चनपुरमा सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता हुन लागेको हो ।
सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशी जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकुदको माहोल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उनले बताए ।
महेन्द्रनगरको खुलामञ्च र कबर्ड हलमा आयोजना हुने प्रतियोगितामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने लक्ष्य लिएको स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले बताए । प्रतियोगिताको विजयी टिमलाई नगद रु। एक लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वतीय टिमलाई नगद रु. ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद रु। ५ हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याट्सम्यानलाई नगद रु। ३ हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका बेस्ट बलरलाई नगद रु।तीन हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजककाअनुसार प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याच विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता सञ्चालनका लागि आयोजकले २ समिति गठन गरेको छ । प्रतियोगिताको पहिलो संस्करण एनआईसी एसिया बैंक र दोस्रो संस्करण लिटिल बुद्ध एकेडेमीले जितेको थियो ।