राजेश हमाल र खेसरीलालसँग झुम्यो रौतहट

काठमाडौं । फाल्गुन १८,रौतहटको मौलापुरमा जारी मधानी महोत्सवमा नेपाली महानायक राजेश हमाल र भोजपुरी सुपरस्टार खेसरीलाल यादवसँग लाखौँ दर्शक झुमेका छन् ।
मंगलबार महोत्सवको उद्घाटन कार्यक्रममा मौलापुर आएका हमाल र यादवको प्रस्तुतीसँगै कार्यक्रम हेर्न आएका दर्शकहरु रमाएका थिए । महानायक हमालले केही नेपाली गीतहरुमा नृत्य गर्नुका साथै आफ्ना सुपरहिट फिल्मका डाइलगहरुले दर्शकको मनोरञ्जन गराएका थिए ।
त्यसैगरी यादवले दुई दर्जन बढि भोजपुरी गीतहरु गाउनुका साथै विभिन्न कलाकारहरुसँग नृत्य गरेका थिए । उनीसँगै आएकी भोजपुरी सुपरस्टार नायिका रानी चर्टजीले पनि आफ्नो प्रस्तुतीले माहोल तताएकी थिइन् । आफुले मन पराएका कलाकारहरुलाई नजिकबाट देख्दा र उनीहरुको प्रस्तुती नजिकबाट हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित थिए ।
दर्शकहरुको भिडलाई व्यवस्थापन गर्न आयोजक , स्वयमसेवक र सुरक्षाकर्मीलाई निकैनै हम्मेहम्मे परेको थियो । दर्शकहरु कलाकारलाई अझ बढि नजिकबाट हेर्न सुरक्षाबार नाघेर स्टेज छेउमै पुगेका थिए । कतिपय दर्शकहरु त रुख तथा बाँसको टुप्पामा बसेर कार्यक्रम हेरिरहेका थिए । उनीहरुलाई सुपरस्टार यादवले बारम्बार दुर्घटनाको सम्भावना बारेमा चेतावनी दिर्दै त्यहाँबाट ओर्लन अनुरोध गरेपनि उनीहरुले अटेर गरेर पुरा कार्यक्रम त्यहीँ बसेर हेरेका थिए ।