सन् २०१८ पछि पहिलोपटक उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा गतिविधि बढ्यो

काठमाडौं । फाल्गुन २५, उत्तर कोरियाले चार वर्षअघि बन्द गरेको आणविक परीक्षण केन्द्र वरपर पुनः गतिविधि देखिन थालेको विश्लेषकहरुले बताएका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी गुप्तचर संस्थाको रिपोर्टले पनि यस वर्ष उत्तर कोरियाले प्रमुख हतियार निर्माणको काम सुरु गर्न सक्ने देखाएको थियो।
शुक्रबार व्यावसायिक स्याटेलाइटबाट लिइएको तस्बिरले उत्तर कोरियाको पुंगे–री आणविक परीक्षण केन्द्रनजिकै नयाँ भवन निर्माण र अर्को भवन मर्मतको कार्य भइरहेको पाइएको हो। त्यस्तै काठ र काठको धुलो पनि उक्त केन्द्रनजिकै देखिएको छ।
अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदनअनुसार उत्तर कोरियाले आफ्नो आणविक गतिविधि बढाउन उक्त केन्द्रमा आफ्नो गतिविधि बढाएको हुन सक्ने विश्लेषकहरुको भनाइ छ।
उत्तर कोरियाले गत जनवरीमा अहिलेसम्मकै सबैभन्दा धेरै मिसाइल परीक्षण गरेको थियो। त्यस्तै उत्तर कोरिया गुप्तचर स्याटेलाइट प्रक्षेपणको तयारीमा रहेको देखिएको छ।
अन्तर्राष्ट्रिय निरीक्षकहरुले उत्तर कोरियाको योङबियोङस्थित प्रमुख आणविक रियाक्टर केन्द्र पनि पूर्ण क्षमतामा सञ्चालन गरिरहेको बताएका छन्।
यसबाट उसले इन्धन वा न्युक्लियर हतियार निर्माणको काम गरिरहेको हुन सक्ने उनीहरुको भनाइ छ।