श्रीलंकामा चरम आर्थिक संकट, कागज जुटाउन नसकेर रोकियो परीक्षा

काठमाडौं । चैत ६, श्रीलंकाका महिनौंदेखि चलिरहेको आर्थिक संकटका कारण पश्चिमी प्रान्तमा विद्यालय स्तरीय परीक्षा समेत स्थगित गर्नुपरेको छ ।
कागजको अभावका कारण परीक्षा स्थगित गर्नुपरेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।विदेशबाट वस्तु आयात गर्नका लागि श्रीलंकासँग डलरको पर्याप्त सञ्चिति छैन ।
शिक्षा अधिकारीहरूले सोमवारदेखि हुन लागेको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको बताए । सन् १९४८ मा स्वतन्त्र भएदेखि पहिलोपटक श्रीलंका यति भयावह आर्थिक संकटमा परेको हो ।
मुद्रण व्यवसायीहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सञ्चिति गर्न नसकेकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन नसकेका हुन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले जनायो ।
कक्षा ९, १० र ११ को टर्म परीक्षा स्थगित गरिएको हो । विदेशी मुद्रा सञ्चितिको कमीले गर्दा आएको भयानक आर्थिक संकटका कारण श्रीलंकामा खाद्यान्न, तेल र औषधिको अभाव छ ।