लेटाङमा मंगलबार पनि कर्फ्यू जारी

काठमाडौं । चैत ८, प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ।
सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।
अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।
यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ।
मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यु लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो ।
प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गर्यो। स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सोमबार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।
कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेखि प्रहरी सेवामा कार्यरत थिइन्।
उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्। बोल्न सक्ने अवस्थामै छैनन्।
‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’
उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्।
आइतबार मोरङको लेटाङ नगरपालिका(५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्।
१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो।
तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए।
एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्।
यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए।