बेलायतले युक्रेनलाई थप ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने

काठमाडौं । चैत १०, बेलायतले युक्रेनलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा आज गर्न लागेका हुन्।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको ब्रसेल्समा हुने बैठकमा प्रधानमन्त्री जोन्सनले युक्रेनी सेनालाई क्षेप्यास्त्रसँगै २५ मिलियन पाउण्डको आर्थिक सहयोगकोसमेत दिने घोषणा गर्नेछन्।
युक्रेनलाई सैन्य र आर्थिक सहायता दिनका लागि बेलायत सँगै काम गर्नेछ।
यस्तै बेलायतले सो क्षेत्रमा युक्रेनी र रूसी भाषामा बिबिसी सेवाका निम्ति ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने भएको छ।
यसअघि बेलायतले करिब ४ हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।
बेलायती अधिकारीका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।
‘युक्रेनीसेनालाई सैन्य र आर्थिक सहयोगमा बेलायतले सहयोगी भूमिका निभाउनेछ’, प्रधानमन्त्री जोन्सनले भने’, हाम्रो सहयोगबाट युक्रेनको सुरक्षा मजबुत हुनेछ।’
विगत एक महिनादेखि रसियाली सेनाको सामना गरिरहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायले थप सहयोग गर्नुपर्ने जोन्सनले बताए।