गाडी किन्ने रकम विकासमा खर्च गर्ने खोटाङका चार जनप्रतिनिधि

काठमाडौं। चैत १५, राज्यले स्थानीय तहका जनप्रतिनिधिलाई कार्यालय प्रयोजनका लागि चारपांग्रे गाडी किन्न सक्ने सुविधा दिएको छ ।
सोही व्यवस्थाको फाइदा उठाउँदै अधिकांश जनप्रतिनिधिले आफ्नो सुविधाका लागि महँगो रकम खर्चेर चारपांग्रे गाडी किनेका छन् ।
पहिलो पाँच वर्षे कार्यावधिको अन्त्यतिरसमेत कतिपय जनप्रतिनिधिहरूमा ‘गाडी मोह’ देखिएको छ । तर, खोटाङका चार वटा गाउँपालिकाका अध्यक्षको कार्यकाल भने गाडी नकिनेरै बित्दैछ ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका अध्यक्षाहरूले चार पांग्रे गाडी नकिनेरै आफ्नो कार्यकाल बिताउन लागेका हुन् ।
“एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपियो चढेर सान देखाउनुको अर्थ छैन,”
बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा भन्छन्, “म एक्लैले सुखसयल गरेर हँुदैन, गाउँपालिकाका जनता सुखी भए न जनप्रतिनिधि हुनुले मतलब राख्छ ।”
गाडी सुविधा मात्र नभई आफूले क्वार्टरसमेत नलिएको र कार्यकाल सकिएपछि आफूले बुझाउनुपर्ने एउटा मोबाइल र मोटरसाइकल मात्रै रहेको उनले बताए । बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधिका लागि चारपांग्रे गाडी किन्ने रकम एम्बुलेन्स र जेसीबी खरिदमा खर्च गरिएको छ ।