कञ्चनपुरमा दलहरूले बढाए चुनावी गतिविधि

काठमाडौं। चैत १७, आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ ।
सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताए । केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ ।
चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ । अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ ।