डेढ वर्षअघि नेपाल आइपुगेको रेल बल्ल सञ्चालनमा

काठमाडौं। चैत २०, नेपालले भारतसँग खरिद गरेको दुइ वर्टा रेल २०७७ असोज २ गते जनकपुर आइपुगे।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको रेलको सपना पूरा भएको भन्दै थुप्रै प्रशंसा पनि भयो। तर, उक्त रेल सञ्चालनमा आउन सकेन।
उक्त रेल करिब डेढ वर्षपछि आइतबारदेखि सञ्चालनमा आएको छ।
तीन दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा रेलको उद्घाटन गरेका थिए। त्यसपछि आइतबारदेखि कुर्था–जनकपुर–जयनगर नियमित रेल सेवा सुरु भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण गरिरहेको जयनगर–बिजलपुर–बर्दिवाससम्मको ६९ किलोमिटर रेलमार्ग अन्तर्गत पहिलो चरणको जयनगर–कुर्थासम्म ३२ किलोमिटर खण्डमा रेल सञ्चालनमा आएको हो।
रेल सञ्चालनका लागि चालकसहित प्राविधिक कर्मचारीका लागि भारतीय रेलकम्पनीसँगै सम्झौता भएको छ। भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय जीटुजी सम्झौता भएको हो। महाप्रबन्धक झाका अनुसार सबै प्रशासनिक र सहयोगी गरी कूल ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरेर तालिम दिइसकेको छ।