विराटनगरको मेयरमा एमालेले पाँचजनाको नाम सिफारिस गर्यो

काठमाडौं। चैत २७, आसन्न स्थानीय चुनावका लागि विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालले पाँचजनाको नाम सिफारिस गरेको छ ।
महानगर कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर पदमा उठ्न चाहेका आकांक्षीको नाम सिफारिस गरेको हो ।
महानगर कमिटीको शनिबार बसेको बैठकले उपप्रमुखमा पनि तीनजनाको नाम सिफारिस गरेको छ ।
मेयरमा एमाले विराटनगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बावुराम कार्की, पशुराम बस्नेत र नेता महेश भट्टराईको नाम सिफारिस भएको छ । बस्नेत र भट्टराई पार्टीको प्रदेश–१ कमिटी सदस्य हुन् ।
उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय शिलाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।
महानगर अध्यक्ष सागर थापाले कुनै एकजनाको नाममा सहमति नजुटेपछि सबैको नाम सिफारिस गरिएको बताए । महानगरको उमेदवार अब केन्द्रले टुंग्याउने छ ।