युक्रेन युद्धमा झन् झन् जोडिँदै अमेरिका

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, युक्रेनविरुद्ध रुसले आक्रमण गर्नुअघि र गरेपछि अमेरिकाले युक्रेनलाई लगातार हातहतियार तथा सूचनाहरू दिँदै आएको छ ।

रुसको ब्ल्याक सी फ्लीटको जंगी जहाज मोस्क्वा डुब्ने गरी आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी युक्रेनले गरेको छ । युक्रेनलाई मोस्क्वामाथि प्रहार गर्नका लागि सूचना अमेरिकाले उपलब्ध गराएको हुन सक्छ ।

युक्रेनलाई यसरी भारी हतियार तथा युद्धभूमिको सूचना उपलब्ध गराएर अमेरिका द्वन्द्वमा झन् बढी संलग्न हुन थालेको फाइनान्सियल टाइम्स पत्रिकाले लेखेको छ । युद्ध लम्बिँदै जाँदा रुसले पश्चिममाथि आक्रमण गर्ने सम्भावना नरहेकाले अमेरिका युक्रेन युद्धमा थप संलग्न हुन हौसिएको उक्त पत्रिकामा उल्लेख छ ।

यसरी युक्रेनलाई सूचना उपलब्ध गराएर अमेरिकाले युक्रेनी सैनिकहरूलाई प्रतिरक्षात्मकको साटो आक्रामक कारवाही गर्न प्रेरित गरिरहेको छ । रुसको नियन्त्रणमा रहेको भूभाग पुनः युक्रेनको नियन्त्रणमा ल्याउनका लागि आक्रामक कारवाही चलाउन युक्रेनीहरू यसबाट अभिप्रेरित हुन सक्छन् । अमेरिकाले हौसाएकाले डोनबास र क्राइमियामा रुसले नियन्त्रण गरेको भूभागमा पनि युक्रेनले कारवाही चलाउन सक्ने सम्भावना रहेको द वाल स्ट्रीट जर्नलले लेखेको छ ।

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्