युक्रेनको स्टिल उद्योगमा रुसी फौजको आक्रमण

काठमाडौं। वैशाख २२, आफ्नो कब्जामा रहेको मारिओपोल सहरको अन्तिम क्षेत्रको एजोभस्टाल स्टिल उद्योगमा रुसी फौजले पूर्णस्तरको आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डर डेनिस प्रोकोपेन्कोले दोस्रो दिन पनि रक्तपातपूर्ण लडाइँ जारी रहेको बताएका छन्। उक्त उद्योगभित्र बालबालिकासहित करिब २०० सर्वसाधारण आश्रय लिएर बसिरहेको बताइएको छ।
कमान्डर प्रोकोपेन्कोले टेलिग्राममार्फत् भनेका छन्,‘शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु। यहाँको अवस्था निकै कठिन छ।’
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन्।