प्रदेश नम्बर २ मा मतदान सम्पन्न, करिब ७३ प्रतिशत मत खस्यो

सहयात्रा टिभी

काठमाडौं । प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

वीरगञ्ज लगायतका स्थानमा साँझ ५ बजेपछि पनि मतदानका लागि केही समय थप गरिएको थियो । मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरुका लागि मतदान गर्न केही समय थप गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । प्रदेश नम्बर २ मा करिब ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई, तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । यद्यपि केही मतदान केन्द्रहरुमा भने मतदान कार्य एक/डेढ घण्टा ढिलो गरी सुरु भएको थियो ।

प्रदेश नम्बर २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको हो । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

केही स्थानमा भने फर्जी मतदाता भेटिएका छन् । महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका प्रहरीले जनाएको छ । सप्तरीमा अर्काको नाममा मतदान गर्न खोज्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदान गरे ।

तर, पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने मतदानमा भाग लिनु भएन। धनुषाको लक्ष्मीनिया गाउँपालिका, ४ सपहीमा उहाँको मतदाता नामावली छ ।

यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि मतदान गर्नु भएन। स्वास्थ्यमा समस्या देखिएपछि आइतबारै उहाँ काठमाडौं फर्किनु भएको थियो । ठाकुर सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुनुहुन्थ्यो ।

याे पनि पढ्नुहाेस्

सर्लाहीमा ११६ वर्षीय वृद्धले गरे मतदान, १० बजे अघि १५ प्रतिशत मतदान

हर्षोल्लासका साथ सिरहामा मतदान जारी, बिहान १० बजेसम्ममा ३५ प्रतिशत मतदान

सप्तरीमा एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान, ३५ प्रतिशत मत खस्यो

धनुषामा उत्साहपूर्वक रुपमा मतदान हुदै

 

प्रकाशित : 18 September, 2017

प्रतिक्रिया दिनुहोस्