कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । जेठ १५, राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।
सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा.शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए ।
उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ ।
परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।