विद्युत् जडित क्षमता २ हजार २ सय ५ मेगावाट पुग्यो

काठमाडौँ । जेठ १५, नेपालको कुल जडित विद्युत् क्षमता २ हजार २ सय ५ मेगावाट बराबर पुगेको छ ।
२०७८ असार मसान्तसम्ममा १ हजार ६ सय ६५ मेगावाट रहेको जडित क्षमता फागुन मसान्तसम्म ८ महिनामा ५ सय ४० मेगावाट अर्थात् ३०.९ प्रतिशतले बढेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ ।
हाल राष्ट्रिय प्रसारणलाइनमा जोडिएको कुल बिजुलीमध्ये २ हजार २२ मेगावाट जलविद्युत्, ४९.७६ मेगावाट सौर्य प्लान्टबाट, ५३.४ मेगावाट थर्मल प्लान्टबाट, ७४ मेगावाट वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबाट र ६ मेगावाट चिनी मिलबाट उत्पादन भइरहेको छ ।
जलविद्युत् आयोजनामध्ये नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित परियोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत् परियोजनाबाट १ हजार ४ सय ४० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।