हालान्डको गोलमा नर्वे विजयी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २०, म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका इर्लिङ हालान्डको गोलमा नर्वेले बिहीबार राति यूईएफए नेसन्स लिग ‘बी’मा सर्वियालाई १.० ले हराएको छ ।

इङ्लिस प्रिमियर लिगको क्लब सिटीले १० मेमा २१ वर्षे हालान्डलाई ५ करोड १२ लाख पाउण्डमा अनुबन्ध गरेको जनाएको थियो । तथापि, आधिकारिक रुपमा अझै दुई पक्षबीचको सम्झैता सार्वजनिक गरिएको छैन ।

हालान्डले २६औं मिनेटमा गरेको गोल नर्वेको जितमा निर्णायक बनेको थियो । हालान्डले नर्वेबाट १८ खेलमा १६ गोल गरिसकेका छन् ।

जितसँगै समूह ४ मा रहेको नर्वेले तीन अंक जोडेको छ । समान तीन अंक जोडेको स्विडेन शीर्ष स्थानमा छ । स्विडेनले गएराती नै स्लोभेनियालाई २.० ले पराजित गरेको थियो ।

स्विडेनले इमिल फोर्सबर्गको गोलबाट ३९औं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी हुँदा डेजान कुलुसेभस्कीले अर्को गोल थपेपछि स्विडेनले तीन अंक पक्का गरेको हो ।

यूईएफए नेसन्स लिग ‘बी’कै समूह २ मा इजरायल र आइसल्यान्डले २.२ को बराबरी खेले । यूईएफए नेसन्स लिग ‘सी’मा ग्रिसले नर्दन आयरल्यान्डलाई १.० ले हरायो । त्यस्तै बुल्गेरियाले नर्थ म्यासेडोनियासँग १.१ को बराबरी खेल्दा जर्जियाले गिब्राल्टरलाई ४.० ले हरायो । कोसोभोले साइप्रसलाई २.० ले हरायो ।

प्रकाशित : 3 June, 2022

प्रतिक्रिया दिनुहोस्