‘फास्ट ट्रयाक’ को सुरुङ खन्ने काम रोक्न सेनाको निर्देशन

काठमाडौँ । जेठ २२, निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो ।
चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आर्म्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको जानकारी दिए । उनले भने, “दु्रत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरवलोकन गरिरहेको छ ।
अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको हो । पुनरवलोकन तथा अबका दिनमा गरिने कामको रूपरेखा तय हुनेबित्तिकै सुरुङ खन्ने काम पुनः सुरु गरिने उनले बताए ।
परामर्शदाता कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस–वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त) जेभीले सुरुङको पुनरवलोकनको काम गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।