भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

काठमाडौँ । जेठ २३, भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ उत्तराकाशीमा भएको उक्त दुर्घटनामा ४ जना घाइते भएका छन् । बसमा ३० जना यात्रु सवार रहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
चारधामको यात्राका लागि गइरहेको उक्त बस उत्तराकाशीमा एक खाडलमा परेर दुर्घटनाग्रस्त भएको हो ।
युके–०४ १५४१ नम्बरको उक्त बस हरिद्वारबाट प्रस्थान गरेको थियो । बसमा मध्यप्रदेशका तीर्थयात्री सवार रहेका थिए ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान राति नै देहरादून पुगेर प्रहरीको कन्ट्रोल रुममा उत्तराखण्ड सरकारका अधिकारीहरुसँग भेटेर उद्धार कार्यबारे जानकारी लिएका थिए । साथै राति नै घाइतेलाई भेट्न देहरादूनको म्याक्स अस्पतालसमेत पुगेका थिए ।