बर्दिया घटनामा गृहमन्त्रीको प्रष्टोक्ति : गोली हान्ने आदेश नै छैन

काठमाडौँ । जेठ २४, गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउन आफूले आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । त्याहाको सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’
घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले बताए ।