केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी स्थानीयले रोके, प्रहरी परिचालन गरेर फोहोर लगिंदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, काठमाण्डौबाट फोहर बोकेर पुगेका गाडीलाई बन्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले सरकार र जनप्रतिनिधिबीच भएको सहमति नमान्ने बताएका छन् । हिजो सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।

यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको एक अधिकारीले बताए ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन, अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : 7 June, 2022

प्रतिक्रिया दिनुहोस्