पन्ध्रौँ अन्तर्राष्ट्रिय सम्मेलन शुरु

सहयात्रा टिभी

काठमाडौँ । गुणस्तरका लागि एसियाली सञ्जालको पन्ध्रौँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ ।

शुक्रबारसम्म सोल्टी होटलमा जारी रहने उक्त सम्मेलनमा एसिया महादेशका विभिन्न १५ मुलुकका गुणस्तरसम्बन्धी विज्ञ सहभागी छन् ।

दिगो समृद्धिका लागि गुणस्तरीय संस्कृति नाराका साथ शुरु भएको उक्त सम्मेलनको उद्योगमन्त्री सुनिलबहादुर थापाले उद्घाटन गर्नुभयो । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रवाह गराउने सरकार र प्रदायकको दायित्व भएको मन्त्री थापाले बताउनुभयो ।

“राज्यले निर्दिष्ट गरेका गुणस्तरको मापदण्डलाई अवलम्बन गरी त्यसलाई कार्यान्वयन गर्न उद्योगी अग्रसर हुनुपर्छ, गुणस्तरीयताले मानवजातिको जीवन र कार्यशैलीमा निखारपन ल्याउन सहयोग पुर्‍याउँछ,” उहाँले भन्नुभयो ।

कार्यक्रमका संयोजक जनार्दन घिमिरेले नेपालमा पहिलोपटक हुन लागेको उक्त सम्मेलनले उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनका लागि रणनीति तयार गर्न सहयोग पुग्ने बताउनुभयो । सार्वजनिक सेवाको गुणस्तरमा सुधार, ग्राहक र सेवाग्राहीको सन्तुष्टि, गुणस्तरको संस्कार, नेतृत्व विकास, परिवर्तन र जोखिम व्यवस्थापन वातावरणीय सुरक्षा, व्यावसायिक उत्कृष्टता, दिगोविकास र सामाजिक जिम्मेवारीलगायत विषयमा छलफल गरिने बताइएको छ । रासस

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्