मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादी जलविद्युत आयोजना आज बन्द

काठमाडौँ । जेठ २९, लमजुङमा सञ्चालित तीनवटा जलविद्युत गृह आज बन्द भएका छन् ।
७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत गृहबाट आज विद्युत उत्पादन नहुने भएको हो । प्रशारण लाइनको टावरमा तार टाँग्न ती विद्युतगृहबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गर्नु परेको जानकारी दिइएको छ ।
गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।
पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।
करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ । मध्यमर्स्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ ।