केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँमा १२ जनामा हैजा संक्रमण पुष्टि, यस्ता छन् बच्ने उपाय

सहयात्रा टिभी

काठमाडौँ । असार १३, काठमाडौँमा हैजा संक्रमितको संख्या १२ पुगेको छ । आइतबारसम्म १२ जनामा हैजाको संक्रमण देखिएको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार शनिबारसम्म नौ जनामा देखिएको हैजा आइतबार थप तीन जनामा पुष्टि भएको थियो । संक्रमितमध्ये आठ पुरुष र चार महिला छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना, पाटन अस्पतालमा दुई जना र बयोधा अस्पतालमा एक जना उपचाररत रहेको उनले जानकारी दिए।

त्यसैगरी स्टार अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमित भने डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

हालसम्म काठमाडौंको बागबजार, डिल्लीबजार, बोहराटार, बल्खु, नैकाप, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ।

१२ संक्रमितमध्ये आठ जनामा कल्चर पोजेटिभ र बाँकी चार जनामा आरडीटी पोजेटिभ देखिएको महाशाखाले जनाएको छ।

असार २ गते हैजा संक्रमण (जीवाणु) देखिएयता संक्रमितको संख्याको ग्राफ निरन्तर उकालो लागेको छ।

साधारण भाषामा हैजा भनेर बुझिने यो संक्रमण भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हुने गर्दछ । समयमै उपचार हुन नसके यसले मानिसको ज्यानै समेत जान सक्ने चिकित्सक बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार कुनै व्यक्तिको पेटमा दुषित पानी तथा खानाको माध्यमबाट कोलेराको जीवाणु आन्द्रामा हुने इपिथेलिएल नामक कोषिकासम्म पुगेर त्यहाँ टाँसिएर बस्ने गर्दछन् । यस्ता ब्याक्टेरियाले त्यहाँ भएको सोडियम, क्लोराइड इलेक्ट्रोलाइट्स र पानीलाई कोषिका बाहिर आन्द्रामा फालिदिने भएकाले हैँजा भएमा चामलको चौलानी जस्तो तरल पदार्थ दिसाको रुपमा शरीरबाट निरन्तर बगिरहन्छ । जसका कारण शरीरलाई आवश्यक तत्त्वहरू बग्ने र शरीर कमजोर हुने उनले बताए । धेरै कमजोरीका कारण केही मानिस बेहोस नै हुनसक्ने पनि डा. पुन बताउँछन् ।

यस्तै, अधिकांश बिरामीमा पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने जस्ता समस्या देखिने गरेको उनको भनाई छ । अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा र थकान लाग्ने तथा बेचैनी हुने उनले बताए । मुख्यतया हैजा सरसफाईमा ध्यान नदिएको कारण फैलने गर्दछ ।

काठमाडौँमा दूषित पानीका कारण हैँजा फैलिएको पाइएको छ । संक्रमण पुष्टि भएका केही स्थानको पानी परीक्षण गर्दा दिसामा हुने जीवाणु भेटिएको थियो ।

हैजाबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा डाक्टर पुनको जोड छ ।

सरसफाइमा ध्यान नदिएको खण्डमा उनीहरूमार्फत अन्य मानिसमा पनि हैजा फैलने भएकाले यसले थप गम्भीर अवस्था सिर्जना गर्न सक्ने उनले बताए । सम्बन्धित निकायले समयमै ध्यान नदिए थप जोखिम निम्तन सक्ने पनि डाक्टर पुनले बताए । हैँजाले जुनसुकै उमेर समूहलाई पनि असर गर्न सक्ने भएपनि विशेष गरी यसले बालबालिका र वृद्धवृद्धाहरुलाई सताउने गरेको छ ।

हैँजाबाट बच्न पानी उमालेर मात्र खाने, सकेसम्म घर बाहिरको खानेकुरा नखाने, तरकारी फलफूललगायत खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, सडक पेटीमा राखेका खानेकुरा नखाने जस्ता कुरामा ध्यान दिनुपर्ने डा. पुनको सुझाव छ ।

प्रकाशित : 27 June, 2022

प्रतिक्रिया दिनुहोस्