काठमाडौं उपत्यकामा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । असार १६, काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढेको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ । यो सँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् । छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ ।काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी नै रहेको पाइएको छ । धाराको पानी, बोतल र जारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको जनाईएको छ ।

भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै जाने, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासको आग्रह छ ।

हैजाबाट बच्न पानी उमालेर खाने, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सल्लाह छ ।

प्रकाशित : 30 June, 2022

प्रतिक्रिया दिनुहोस्