केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

सहयात्रा टिभी

काठमाडौँ । असार २०, नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

फाइल तस्वीर

आइतबार राति भएको खेलमा ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हरायो । यसघि, एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । रोहितले अविजित ७१ रनको योगदान दिए । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १/१ विकेट लिए ।

क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २१ र दोस्रो एकदिवसीय असार २२ मा हुनेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्