अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति, राजीनामा दिनुपर्ने एमालेको माग

सहयात्रा टिभी

काठमाडौँ । असार २२, बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ । संसद् भवनमा प्रमुख दलहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ । तर कति सदस्यीय समिति बन्ने र को–को सदस्य रहने भन्ने विषय टुङ्गिएको छैन ।

अर्थमन्त्री शर्माको विषयलाई लिएर आज बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक अहिलेसम्म सुरु भएको छैन । नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले गम्भीर गल्ती गरेकाले उहाँको राजीनामाविना संसद् राम्रोसँग चल्न नसक्ने प्रष्ट पार्नुभएको छ । यस्तै नेता योगेश भट्टराईले अर्थमन्त्रीको राजीनामा आफूहरूको ुबटमलाइनु भएको बताउनुभएको छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि उठेका विषयमा संसदमा सम्बोधन गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने चेतावनी दिएको थियो । ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म पनि सुरु हुन नसकेपछि सूचना टाँसेर दुई बजेसम्मका लागि स्थगित भएकोमा अहिलेसम्म सुरु हुन सकेको छैन।

अर्थ मन्त्रालयले त्यति बेलाको सीसीटीभी फुटेज समेत डिलिट भएको सूचना दिएपछि विवाद झन् बढेको छ । अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्