नारायणीको सतह खतरा नजिक, सतर्कता अपनाउदै भारतले गण्डक बाँधको ३६ ढोका खोले

काठमाडौं । साउन १७, अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधकाउच्च सतर्कता अपनाउदै भारतले ३६ ढोका (फाटक ) खोलेको छ। दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।

ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्ने थियो । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।
गण्डक बाँधको क्षमता प्रतिसेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन।
भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काका अनुसार बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मंगलबार २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने खड्काले बताएका छन् । यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। (((((सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।