केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँ मृत्युपछि पनि बिहे गरिन्छ

सहयात्रा टिभी

काठमाडौं । साउन १८, जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखान त हामीले सुनेकै छौ । तर छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित एक जिल्लामा यस्तो परम्परा छ जसमा मृतकको पनि बिहे हुन्छ र जन्ती गइन्छ ।

कन्नड जिल्लामा प्रचलित उक्त परम्परा अनुसार दुईजना बच्चाको मृत्यु भएमा उनीहरुको बिहे गराइन्छ । गत हप्तामात्रै दुईजना मृतक बच्चालाई बिहे बन्धनमा बाँधिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त बिहेको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

एकजना युट्युबरले ट्वीटरमा शेयर गरेको उक्त भिडियोमा उल्लेख गरे अनुसार बेहुला र बेहुली दुबैको करीब ३० वर्ष अघि नै मृत्यु भएको हो र बल्ल उनीहरुको बिहे हुँदैछ ।

आखिर मरिसकेका मान्छेको बिहे किन गरिन्छ त रु यसको खास रहस्य छ ।

स्थानीय परम्परा अनुसार जुन बच्चाको १८ वर्ष उमेर नपुग्दै मृत्यु हुन्छ त्यसैगरी मृत्यु भएको अर्को बच्चासँग केही वर्षपछि उसको बिहे गराइन्छ । उमेर नपुग्दै मृत्यु भएका बच्चाको आत्मा भड्किरहने र बिहेपछि मोक्ष प्राप्त गरी शान्त हुने जनविश्वास छ ।

मृतकको बिहेमा समेत सामान्य बिहेमा जस्तै सबैखालका विधि विधानको पालना गरिन्छ । बिहेका सबै परम्पराको पालना गरिन्छ, इन्गेजमेन्ट देखि बिहेको समारोह सम्म । बिहेको मुहुर्त हेरेरै सात फेरा, कन्यादान, स्वयंबर जस्ता सबै विधिहरु पूरा गरिन्छ । बेहुला पक्षले ल्याएको साडी बेहुलीको प्रतिमामा लगाइदिने गरिन्छ ।

बिहेपछि परिवारका सबै मानिसहरु नविवाहितलाई आशिर्वाद दिन्छन् । उनीहरुलाई बाहिर सबै देवीदेवताको आशिर्वाद लिनका लागि लगिन्छ र फेरि बेहुला बेहुलीको रुपमा गृह प्रवेश गराइन्छ । अन्तिममा बेहुलीको परिवारले आफ्नी छोरीलाई बेहुलाको परिवार समक्ष सुम्पिन्छ ।

मृतक बच्चाहरुको आत्मा तथा मृतक बच्चाका बुवाआमाको खुसीको लागि गरिने उक्त विवाहलाई प्रेत कल्याणम् पनि भनिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्