विमानस्थलको जमिनमा व्यापारिक भवन बनाउने तयारी : पोखरामा सुस्ताउने खाली ठाउँ खै ?
सहयात्रा टिभी
पोखरा । साउन २५, १ जनवरी २०२३ देखि उडान भर्ने भनिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालन होला भन्ने बहस भइरहँदा अर्कोतिर अहिलेको विमानस्थल के होला भन्ने प्रश्न जनजनमा उब्जिएको छ ।

‘पुरानो विमानस्थलमा कर्मचारी आवास तथा व्यापारिक कम्प्लेक्स बनाउने’ योजना सार्वजनिक भएपछि शहरको फोक्सो भनिने यो खुला ठाउँ जोगाउन पोखरेलीहरु कस्सिएका छन् ।
यसरी कस्सिनेमध्येका एक हुन् अध्येता विश्व सिग्देल । ‘कर्मचारी आवास वा व्यापारिक कम्लेक्स बनाउने भन्नु हाम्रो खुला ठाउँ मास्ने योजना हो, यो कुनै हालतमा हुन्न’ उनले भने, ‘पोखरा विमानस्थलको जग्गा ब्यापारमा प्रयोग गर्ने भन्नु भनेको हाम्रा लागि ‘प्लटिङ’ गरेर बेचेजत्तिकै हो ।’
कर्मचारी आवास र व्यापारिक कम्लेक्स बनाउन नागरिक उड्डयन प्राधिकरणले बजेट समेत छुटयाएपछि पुरानो विमानस्थलको जग्गा मास्ने योजना सतहमा आएको छ ।
‘यहाँ सुस्ताउने जग्गा छैन, पोखराका भएका अधिकांश खुला जमिन सरकारले नै जनताबाट खोस्यो । अब बाँकी रहेको एउटा पुरानो विमानस्थलमा पनि आवास र व्यापारिक कम्प्लेक्स बनाउने सोच कति बहुलट्ठी योजना होला ?’
