केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिवङ्गतहरुको सम्झनामा गाईजात्रा पर्व मनाइँदै, गाईको पुच्छर समाई वैतर्णी पार तर्ने धार्मिक विश्वास

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन सम्म दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरू भएको छ। आज काठमाडौंको बसन्तपुर लगायत देशभरका विभिन्न ठाउँमा गाईजात्रा मनाइएको जानकारी प्राप्त भयो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।

यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइने प्रचलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनूभनी आज्ञा दिएका आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोका भएर गाउ गाउ परिक्रमा गर्ने प्रथा अहिलसम्म पनि प्रचलित छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भिडभाड कम गर्न सरकारले आह्वान गरेको जनाएको छ ।

 

प्रकाशित : 12 August, 2022

प्रतिक्रिया दिनुहोस्