शेयर बाँडफाँटमा असहमति जनाउँदै जलविद्युत् आयोजनामा तोडफोड

सहयात्रा टिभी

काठमाडौँ । साउन २९, शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवामा रहेको साञ्जेन जलविद्युत् कम्पनीको सम्पत्ति माथि स्थानीयवासीले तोडफोड गरेको जनाएको छ ।

शेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको साञ्जेन जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा तोडफोड गरेका हुन् । उनीहरूले कर्मचारीलाई पनि कुटेको जनाएको छ ।

साञ्जेनको कार्यालय र सम्पत्ति तोडफोड गरेपछि उनीहरूले माथिल्लो साञ्जेनको कार्यालय पनि तोडफोड गर्ने चेतावनी दिएका थिए।

तोडफोडबाट आयोजनाको झन्डै पाँच करोड रुपैयाँको क्षति भएको कम्पनीका एक कर्मचारीले जानकारी दिएका छन् । स्थानीयवासीले आक्रमण गर्नुअघि नै प्रहरीलाई जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको कर्मचारीको गुनासो रहेको छ।

आयोजनाले रसुवाका नागरिकका लागि १० प्रतिशत शेयर छुट्याएको र रसुवाभित्र पनि अति प्रभावित, प्रभावित र जिल्लावासीका लागि फरक–फरक अनुपातमा शेयरको छुट्याइएको थियो । तर गत्लाङका बासिन्दाले आफूहरूलाई अति प्रभावित क्षेत्रमा राखेर धेरै शेयरको माग गर्दै उच्छृङ्खल गतिविधि गर्दै आएका र तोडफोड समेत गरी क्षयति पुर्याएको आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित : 14 August, 2022

प्रतिक्रिया दिनुहोस्