सशस्त्रका एसपी राशन घोटालामा मुछिए, छानबिनका लागी हेडक्वाटर तानिए

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी राशन घोटालामा मुछिएपछि छानबिनका लागी हेडक्वाटरतानिएकाजानकारी प्राप्त भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा भट्टराईले एसपी  त्रिभुवन विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । उनले राशनमा अनियमितता गरेको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको बताए ।

एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन वापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको जानकारी प्राप्त भएको छ ।

सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् । गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै एसपी विष्टकै सिफारिसमा साहुमाथि जन्मकैदको सजाय माग गरिएको छ । तर साहुका परिवारले एसपी विष्टले फसाउन झुठो मुद्दा लगाएको जानकारी दिएका छन् ।

प्रकाशित : 19 August, 2022

प्रतिक्रिया दिनुहोस्