नाम र कागजपत्रको दुरुपयोग गरेको दोषि ठहर भए आफू कानुनी प्रक्रियामा जाने चेतावनि : केकी
सहयात्रा टिभी
काठमाडौं । भदौ ८, अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छन् । उनले नाम र कागजपत्रको दुरुपयोग गरेको दोषि ठहर भए आफू कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएकी छन् ।

बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्ने समाचार प्रकाशित भएपछि केकीले सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेकी हुन् ।
उक्त शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको बताएकी छन् । उनले यस्तो कार्यप्रति आफूलाई कुनै पूर्व जानकारी नभएको बताउँदै आफ्नो कागजपत्र र हस्ताक्षर दुरुपयोग गरेको पाइए कानुनी उपचारमा जाने समेत चेतावनी दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी थिएन । साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीउपर कडा कारवाही गर्न सम्बन्धित निकायालाई निवेदन दिन चाहन्छु ।’
नर्वेजियन दूतावासले फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि बोर्डसँग फोनमार्फत जानकारी लिएको थियो । तर बोर्डले अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेश गरेको खुलेको थियो ।


