पत्नीको कुटपिट झगडाबाट पन्छिन सय फिट अग्लो रुखमा बास

सहयात्रा टिभी

काठमाडौं । भाद्र १२, लोग्नेस्वास्नी बीच स-साना नोकझोंक हुनु अनौठो होइन । तर लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैं रिस शान्त भएसँगै झगडा साम्य हुन्छ । कहिलेकाही मनमुटाव लामो समयसम्म पनि चलिरहेको हुन्छ । एकै घरभित्र बसेर पनि कतिपय पति पत्नी कैयन् दिनसम्म बोलचाल नै बारेका हुन्छन् । यस्तै एउटा घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा भएको छ ।

पत्नीको रिसका कारण ती व्यक्ति पछिल्लो करिब एक महिनादेखि एक सय फिट अग्लो ताडको रुपमा चढेका छन् । उनले रुखमा नै ओछ्यान लगाएर सुत्ने र त्यहीँ नै खानपिन गर्ने गरेका छन् । उत्तर प्रदेशको मउ जिल्लास्थित बसारथपुर गाउँमा यो घटना भएको हो । त्यहाँका रामप्रवेश नामका एक व्यक्ति पछिल्लो एक महिनादेखि गाउँमा रहेको एउटा एक सय फिट अग्लो ताडको रुपमा बसिरहेका छन् । ती व्यक्तिप्रति गाउँलेहरू आक्रोशित बनेका छन् । उनको बारेमा प्रहरीमा जानकारी दिइएको छ र प्रहरीले त्यसको भिडियो बनाएर लगेको छ ।

एक रिपोर्ट अनुसार रामप्रवेश अहिले पनि रुखमै बसिरहेका छन् । एक महिनासम्म रुखमा बसेर उनले के खाए होलान् रु भन्ने लाग्नु स्वभाविकै हो । तर उनका लागि खानपिनको व्यवस्था चाहिं उनकै घरबाट भएको छ ।

परिवारकै सदस्यहरुले उनलाई खाना र पानी ल्याइदिने गरेका छन् । रुखबाट उनले रस्सी तल झार्दछन् र त्यहीँ रस्सीमा परिवारले उनको लागि खानेकुराको झोला बाँधिदिन्छन् । गाउँलेहरुका अनुसार रामप्रवेश रातमा रुखबाट झर्दछन् र दिसापिसाब लगायतका आफ्ना अन्य क्रियाकलाप गरे पुनः रुखमा चढ्दछन्।

रामप्रवेश ताडको रुखमा चढेर एक महिनादेखि बस्दा उनको परिवारलाई मात्र होइन पूरै गाउँलाई समस्या भएको छ । गाउँको बीचमा रहेको अग्लो ताडको रुखमा उनी चढेर बसेपछि गाउँलेहरुको गोपनियतामै असर परेको छ । उक्त ताडको रुख निकै अग्लो भएकाले त्यसमा चढेपछि गाउँका सबैजसो घरका आँगन देखिन्छ । घरभित्र र बाहिरका क्रियाकलाप समेत उनले देख्ने गरेको गोपनियतामा असर परेको भन्दै गाउँका महिलाहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

रामप्रवेश यसरी एक महिनादेखि रुखमा बसोबास गर्नुको कारण पत्नीसँगको झगडा रहेछ । उनका बुवा विशूनरामका अनुसार बुहारी माइतीबाट घर आएको दिन सधैं छोरा रामप्रवेशसँग झगडा पर्दछ । कहिलेकाहीँ त बुहारीले छोरालाई कुटपिट समेत गर्ने गरेको उनी बताउँछन् ।पत्नीको त्यस्तो हर्कतबाट बेखुस भएर तथा पत्नीको कुटाइबाट बच्नका लागि उनी एक महिनादेखि घर छाडेर रुखमा बस्न थालेको विशूनराम बताउँछन् ।

एजेन्सी

प्रकाशित : 28 August, 2022

प्रतिक्रिया दिनुहोस्