चलचित्र संघको कार्यालयमा हलवाला र निर्माताबीच वार्ता हुदै

काठमाडौं । भदौ २४, आरोप(प्रत्यारोपदेखि निषेधसम्म उत्रिएका नेपाली फिल्मका दुई प्रमुख संस्थाहरुबीच आज अपरान्ह वार्ता हुने भएको छ । विशालनगरस्थित चलचित्र संघको कार्यालयमा निर्माता संघसँग हुने वार्तामा दुवैै पक्षका अध्यक्ष र महासचिव सहभागी हुनेछन् ।
वार्ताको नेतृत्व निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले गर्दैछन् । नेपाली फिल्मको वितरण र प्रदर्शन तत्काल कतातिर जान्छ भन्ने कुराको निर्धारण शुक्रबारको ‘विशालनगर’ वार्ताले गर्नेछ ।
खड्का नेतृत्वको निर्माता संघको नयाँ कार्यसमितिले पहिलो बैठकमै शुक्रबार मात्र फिल्म रिलिज गर्न पाइने निर्णय गरेपछि प्रदर्शकको छाता संस्था चलचित्र संघ आक्रोशित भएको हो । अर्कोतर्फ, फिल्मको सेन्सर प्रक्रियामा समेत दुःख दिएको आरोप उसको छ । आफ्ना सदस्यहरुलाई मानमर्दन हुन खालका गतिविधि भएको भन्दै चलचित्र संघले आपत्ति जनाएको छ ।
चलचित्र संघ र निर्माता संघबीचको झगडा चर्किएपछि बिहीबार बेलुका बसेको चलचित्र विकास बोर्डको बैठकमा समेत यसबारे समीक्षा भएको थियो । विवाद चर्किएपछि दुवै पक्षलाई छलफलमा बोलाउने अध्यक्ष भुवन केसीले तयारी गरेका छन् । यो लडाइ पहिलोपटक चाहिँ होइन, आफ्ना स्वार्थलाई लिएर निर्माता र संघ र चलचित्र संघ यसअघि पनि कैंयन पटक आमनेसामने भएका छन् ।