साफ यू-१७ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत खेल्दै
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं । भदौ २९, श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारत खेल्दैछन्।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा राति ८ : १५ बजे फाइनल खेल सुरु हुनेछ। जारी प्रतियोगितामा अपराजित नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो। दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो।
प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा एक हार व्यहोर्यो।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो। नेपाल त्यही जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ।
यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन्।


