पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २ बाट उठ्ने तयारीमा
काठमाडाै ।भदाै २९, पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्।
घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ क्षेत्रीय कमिटीले आज उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ । केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन् । प्रचण्डलाई उनले समानुपातिकमा नबस्ने बताएकी थिइन्। ‘बरू हार्न तयार छु तर यसपालि समानुपातिकमा बस्दिनँ,’ उनले भनेकी थिइन् ।
जबाफमा प्रचण्डले काठमाडौंको कुनै क्षेत्र खोज्ने बताएका थिए । सत्ता गठबन्धनका दलहरुबीचमा सहमति भएमा काठमाडौं क्षेत्र नम्बर २ माओवादी केन्द्रले लिने र सो क्षेत्रमा पूर्वसभामुख घर्तीलाई उठाउन प्रचण्ड तयार भएका छन् । घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् । उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन् ।
२०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन् । पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री बनेकी थिइन् । माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन् । उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्जार्ज भइसकेकी छन् ।