केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के गर्ने के नगर्ने आजदेखि चुनावी आचारसंहिता लागू

सहयात्रा टिभी

काठमाडौं । असोज १२, प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको जनाएको छ ।

आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने जनाएको छ ।

स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् ।

तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेदवार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् । संवैधानिक पदाधिकारीहरुले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाउने पनि आचारसंहितामा उल्लेख छ ।

यस्तै, आचारसंहिताले सरकारी कर्मचारीलाई कुनै दलको पक्ष वा विपक्षमा लाग्न रोक लगाएको छ । चुनावमा खटिने कर्मचारीले पनि कुनै उम्मेदवारको पक्ष विपक्षमा प्रचार गर्न पाउने छैनन् ।

सुरक्षा निकाय र सुरक्षासम्बद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेदवारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले तटस्थता अपनाउनुपर्नेछ ।

गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ । आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भइ चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ ।

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्